Sunday, May 19, 2013

राजनीतिमा कलाकार- रेखा एक्ली होइनन्
नेपालकी नं १ नायीका मानिने रेखा थापा एमाओवादीमा प्रवेश गरेपछी कलाकार राजनीतिमा प्रवेश गर्न हुने वा गर्न नहुनेमा व्यापक बहस र चर्चा सुरू भएको छ । कतिपयले चर्चित कलाकारको राजनैतिक पार्टी प्रवेशलाई गलत ठहर्याउँछन् भने कतिपय कलाकार पनि चेतनशील प्राणी भएकाले राजनीतिमा जानु अन्यथा नभएको बताउँछन् । तर, कलाकारको प्रवेशबारे बहस भने जारी छ ।
कलाकारको पार्टी प्रवेशको विरोध गर्नेहरूले देशको कलाकार पार्टीमात्रै हुने र अन्तत कलाकारिता नै मर्ने तर्क दिने गरेका छन् । कलाकारको पार्टी प्रवेशलाई सामान्य मान्नेहरू कलाकार समाज भन्दा पर नभएको र कुनै राजनैतिक पार्टीमा लाग्ने नलाग्न व्यक्तिगत प्रश्न भएको भनेर पन्छिन् ।
पार्टीका नेताहरूको कुरै नगरम । आफ्नो पार्टीमा कोही कलाकार प्रवेश गरे ठीक नत्र बेठीक । नेपाली राजनैतिक दलको तर्क शुन्यता बढदो छ ।
यहाँ चर्चा गर्न खोजिएको प्रसंग फरक छ । कलाकारहरूको राजनीतिमा प्रवेश नयाँ भने नितान्त होइन् । यसअघि नेपालमै र हलिउड र बलिउडमा पनि चर्चित कलकारहरू राजनितिमा प्रवेश गरिसकेका छन् । थोरै सफल भएका छन् भने धेरै पुनः कलाकारितामै प्रवेश गरेका छन् ।
यसअघि नै एमाओवादीमा विभाजन आउनु भन्दै अगाडीनै १०० जनाको हाराहारीमा एमाओवादीले कलाकारलाई पार्टी प्रवेश गराएको थियो।
निर्माता/निर्देशक युवराज लामासहित निर्देशक केपी पाठक, मौसमी मल्ल, राजेन्द्र खड्गी, शिव रेग्मी, दिपक श्रेष्ठ, सुभाष गजुरेल, अन्जु पन्त, सृजना बस्नेत, सुरज सुब्बा, कल्याण घिमिरे, मौनता श्रेष्ठ, छवि ओझा, उदय सुब्बा, बसन्तकुमार श्रेष्ठ, हिमाल केसी, दीप तुलाधर, जयनन्द लामा, भुवन श्रेष्ठ, नीर शाह, सुनीलदत्त पाण्डे, रोशन श्रेष्ठ, योगेश घिमिरे, गोपाय कायस्थ, सुरज चन्द, सुन्दर श्रेष्ठ, कल्याण घिमिरे, सुलेमान शङकर, शम्भु सापकोटा जस्ता कलाकारहरु एमाओवादीले उहिल्यै पार्टिमा प्रवेश गरिसकेका छन् ।
यी सबै कलाकारलाई प्रचण्डले रातो टीका र अवीर माला लगाएरै स्वागत गरेका थिए । यी नाम बाहेका अन्य कलाकार पनि छिटफूट एमाओवादीमा छिरेका छन् । जेबी टुहुरे देखी शम्भु राईपनि एमाओवादीमै छन् । त्यसैगरि केही कलाकारहरू देखिने गरि कांग्रेस र एमाले पार्टीमा पनि छिरेका छन् ।
केही समय अघी नेपाली चलचित्रका सुपरस्टार नायक राजेश हमाल पनि राजनितिमा आउने हल्ला चलेको थियो भने अर्को सदावहार नायक भुवन केसी एमाले छिर्ने हल्ला व्याप्त थियो ।
तर, रेखाले भने औपचारिक रूपमै एमाओवादी पार्टी प्रवेश गरेर नयाँ तरंग सृजना गरिदिएकी छिन् ।
रेखाले जनताको सेवा गर्न चाहेको बताएकी छिन् । उनले एमाओवादीमा जिम्मेवारीको समेत माग गरेकी छिन् । भोली एमाओवादीले रेखालाई साच्चिकै पत्याएर जिम्मेवारी देला वा 'शो-केश'को रुपमा मात्रै प्रयोग गर्ला अनुमान गर्न गाह्रो छ । यो भन्दा पनि अनुमान गर्न गाह्रो छ, रेखाको राजनैतिक सफलताको बारेमा ।
bollywood in politicsभारतको चर्चित चलचित्र उदयोग बलिउडपनि राजनितिबाट अछुत छैन् । अमिताभ बच्चन देखी गोविन्दा सम्मले चुनाव लडेर जित हासिल गरेका थिए ।
अमिताभ बच्चनले लोकसभाका उत्तर प्रदेशकी पुर्व मुख्यमन्त्री एचएन बहुगुनालाई हराएका थिए । तर, अमिताभ बच्चनको राजनीति मोह लामो समयसम्म तग्न सकेन र उनी पुनः चलचित्रमै फर्किए । उनकी श्रीमती तथा नायीका जया बच्चन भने अहिले पनि समाजवादी पार्टीबाट राजनीतिमै सक्रिय छिन् ।

नायक धर्मेन्द्रले पनि भारतीय जनता पार्टीका तर्फबाट चुनाव जितेका थिए भने नायीका हेमा मालिनी पनि राज्यसभामा निर्वाचित भएकी थिइन् ।
अर्का नायक शत्रुघ्न सिन्हा बिहारबाट भारतीय जनता पार्टीको राजनीति गर्दछ्न् । कमेडी नायकको छवि बनाएका गोविन्दा पनि कांग्रेसका लागि लोकसभामा जितेर पुनः चलचित्रमै फर्किएका छन् ।
केही वर्ष अघि मात्रै टेलिभिजन चर्चित अभिनेतृ स्मृती इरानी पनि राजनीतिमै होमिएकी छिन् । उनले भारतीय जनता पार्टीमा राम्रो पद र जिम्मेवारी समेत पाएकी छिन्।
भर्खरै जेल गएका नायक सञ्जय दत्तका स्वर्गिय पिता पनि कलाकारिता पछि राजनीतिमा छिरेका थिए ।
हलिउडमा त नायक आर्नोल्ड स्वार्जनेगरले रिपब्लिकनको तर्फबाट दुई कार्यकाल क्यालिफोर्निया राज्यको गभर्नर समेत भएका थिए ।Arnold Schwarzenegger
यसरी हलिउड, बलिउड र कलिउड क्षेत्रका हस्तिहरू राजनीतिमा छिरेको इतिहास साक्षी भएका कारण पनि रेखाको राजनीति प्रवेशलाई त्यति धेरै आलोचना गर्नु आवश्यक नहोला ।
चलचित्रमा आफ्नो छुट्टै छवी बनाएका हस्तिहरू राजनीतिमा प्रवेश गरेर थोरै सफल भएका छन् र अहिले पनि जनताको सेवा गरिरहेका छन् भने धेरैले राजनीतिलाई छाडेर फेरी आफ्नै पूर्व पेशा अंगालेका छन् । यस हिसाबले पनि रेखाको राजनीतिक भविष्य कस्तो हुन्छ, उनी राजनीतिमा कति लामो समयसम्म तग्न सक्छिन् र यसले नेपाली चलचित्रलाई असर गर्छ या गर्दैन भन्ने यावत् कुराहरूलाई छाडेर अहिले कलाकारले पनि राजनीति गर्न पाउनुपर्छ भन्ने माहोल तयार हुनु नै ठुलो कुरा भएको मान्न सकिन्छ ।

No comments:

Post a Comment