Monday, July 1, 2013

इमान्दारितामाथि प्रश्न उठाउँदा पीडाबोध हुन्छ : बाबुराम भट्टराई


१७ असार, काठमाडौं । एमाओवादीका निर्वातमान उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्ष पद परित्याग गर्नुका कारण, यो निर्णयपछि उठेका केही प्रश्न र आफ्ना भावी योजनाबारे अनलाइनखबरसँग लामो कुराकानी गर्दै आफूलाई क्रियाशील बनाइराख्ने विधि एमाओवादी पार्टीले आगामी विस्तारित बैठकबाट तय गर्नुपर्ने बताउनुभएको छ । पद त्यागको निर्णयबारे उहाँकै शब्दमा :Baburam-bhattarai
यसकारण पद त्याग गरें
मैले पार्टीको पदत्याग गर्ने निर्णय आकस्मिकरुपमा गरेको होइन र र यो कुनै सरप्राइज पनि हैन । यस विषयमा मैले निकै पहिलेदेखि नै पार्टीभित्र छलफल र बहस गर्दै आएको हो ।
खासगरी कम्युनिष्ट हुनु भनेको मान्छेले मान्छेमाथि गर्ने सबै प्रकारका वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गकि, राष्ट्रिय उत्पीडनको अन्त्य गरेर एउटा शोषणविहीन, वर्गविहीन, राज्यविहीन एउटा समाजमा पुग्ने अभियान हो । यसले गर्दा कम्युनिष्टको धेरै लामो अभियान हुन्छ र यसको निम्ति सत्ता र शक्ति भन्ने कुरा एउटा क्षणिक साधन र माध्यम मात्र हुन्छ । यो आफैंमा लक्ष हुँदैन । लक्ष भनेको मान्छेले मान्छेमाथि गर्ने सबै किसिमका विभेदको अन्त्य गर्नु र सम्वृद्धिले भरपुर मानव जाति, असाध्यै उन्नत चेतनाले एउटा मानव जातिको प्राप्ति गर्नु कम्युनिष्टको लक्ष हो । सत्ता शक्ति र त्यसको निम्ति पार्टी भनेका यी क्षणिक कुरा हुन् ।
तपाईहरुलाई थाहा होला, जनयुद्धकालमा पनि १३ बुँदे एउटा बहस चलेको थियो । त्यसमा आवश्कताको दुनियाँ र स्वतन्त्रताको दुनियाँवीचको अन्तरसम्बन्ध भन्ने विषयमा हाम्रो एउटा बहस चलेको थियो । आवश्यकताको दुनियाँ भनेको तत्कालीन वर्गविभाजित समाजका संस्कार र संस्कृतिका सीमाभित्र रहेर गर्नुपर्ने कुराहरु हुन्छन् र यसभित्र गरिने गतिविधि त्यो आवश्यकताको दुनियाँ हुन्छ । तर, त्यो भन्दा माथि उठेर एउटा उदात्त, शोषणविहीन र सम्वृद्ध समाजको परिकल्पना भनेको स्वतन्त्रताको दुनियाँ हुन्छ । यी दुइटावीच ठीक ढंगले अन्तर खुलाउनुपर्छ । आवश्यकताको दुनियाँमा टेकेर स्वतन्त्रताको दुनियाँमा पुग्ने नै हाम्रो अभिष्ट र लक्ष हुनुपर्छ भन्ने विषयमा हाम्रो बहस चलेको थियो । र, त्यही अनुसार मैले पार्टी सत्ता आवश्यक हुँदैन कहिल्यै पनि भनिँन । माक्र्सवादले पनि त्यसो भन्दैन । तर, त्यो नै लक्ष हुँदैन । त्यो नै साध्य हुँदैन । त्यो साधनमात्रै हो, साध्य होइन ।
तर, हामीकहाँ व्यवहारका क्रममा सत्तालाई साधन भन्दा पनि साध्य ठान्ने प्रवृत्ति हुर्केर गयो । यसले गर्दा विभिन्न खालका विकृति, विसंगति र भ्रष्टाचारजन्य क्रियाकलाप, निजी स्वार्थजस्ता कुराहरु आन्दोलनभित्र प्रवेश गरेर अन्तरराष्ट्रियरुपमा कम्युनिष्ट आन्दोलन नै धरासायी बन्न पुग्यो । त्यसैले हामी नयाँ शिराबाट यो आन्दोलन अगाडि बढाउँदै छौं ।baburam-raising-hand
जनयुद्धकालमा हामीले सकेसम्म यो मूल्य, मान्यता र आर्दशलाई बोकेर जनता, देश र वर्गका निम्ति दलिदान गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर काम गर्यौं । त्यसैले गर्दा नै हाम्रो आन्दोलन यो उचाइमा पुग्यो र जनताले शान्ति प्रक्रियामा आएपछि पनि हामीलाई विश्वास गरे । तर, शान्ति प्रक्रियामा आएपछि हामीले सदन, सडक र सरकार तीनवटै मोर्चाबाट संघर्षलाई व्यवस्थित र संगठित गरेर क्रान्ति र परिवर्तनको प्रक्रियालाई पूर्णता दिने नीति लियौं । यसक्रममा सत्तामा पुगेर त्यसभित्रबाट पनि देश र जनताको पक्षमा आवश्यक गतिविधि गुर्न हाम्रो कार्यदिशाको एउटा अभिन्न अंग बन्न पुग्यो । तर, हाम्रो सडक र जनताबाट गर्ने गतिविधि ओझेलमा पर्यो । यसले गर्दा पार्टीभित्र सबै नै सरकार र सत्ताको नजिक पुग्न खोज्ने र त्यहाँबाट मात्रै केही गर्न सकिन्छ सोच वृद्धि भयो । यसलाई पनि एउटा निजी शक्ति र स्वार्थको साधन मान्ने प्रवृत्ति बढ्यो । यसका निम्ति पहिलो पार्टीको पदमा पुग्नुपर्छ, त्यहाँ पुगेर फेरि सत्तामा सहभागी बन्न पाउनुपर्छ र यसो गरेमात्रै आफूले लाभ लिन सकिन्छ भन्ने प्रवृत्ति बढ्दै गयो । यसले गर्दा हाम्रो पार्टी पनि अरु कांग्रेस एमालेजस्ता संसदवादी पार्टीभन्दा प्रष्टरुपमा छुट्याउन गाह्रो पर्ने स्थितितिर जान थाल्यो । यद्यपि अहिलेसम्म हाम्रो माओवादीवादी पार्टी फेरि पनि अरुभन्दा गुणात्मकरुपले फरक छ । यसले लिएको मूल्य, मान्यता र आदर्श अहिले पनि मूलभूतरुपमा कायम छ । यसैले गर्दा यो पार्टीप्रति जनताको विश्वास छ र म पनि यसमा आवद्ध छु ।
तर, पछिल्लो चरणमा हामीले विधि विधानलाई व्यवस्थापन गर्न नसक्दा पद र सत्ता नै सबैथोक हो भन्ने कुराको सट्टा त्याग, बलिदान देश र जनताप्रतिको समर्पणभाव, नैतिकता, आदर्श, चरित्र अलि कमजोर हुँदै गएको स्थिति देखा पर्यो । पछिल्लो चरणमा यिनै कुरालाई मध्यनजर गर्दै यसको निदान के त ? पार्टीले विधि विधान बनाएर शुद्धीकरण गर्ने त छँदैछ तर, त्यसका अतिरिक्त पद र सत्ता नै सबैथोक होइन भन्ने कुरालाई व्यवहारतः स्थापित गर्नका निम्ति उच्च तहमा रहेका हामीमध्येले नै कसैले उदाहरण बनेर देखायौं भनेमात्रै अरुलाई भन्ने हाम्रो नैतिक अधिकार रहन्छ । खाली उपदेशले मात्रै यो कुरालाई स्थापित गर्न सकिँदैन । नैतिक मूल्य र मान्यता भनेको व्यवहारतः नै लागू गरेर देखाउने कुरा हो । अरुलाई उपदेश दिने तर आफूचाहिँ त्यो मूल्य र आदर्शमा नबस्ने भयो भने कसैले पनि विश्वास गर्दैन ।
यी कुरालाई मध्यनजर गर्दै मैले बैठकमा आफूबाटै पद त्याग गरेर अरु साथीहरुलाई पनि पद र सत्ता नै सबैथोक होइन, देश र जनताप्रति निस्वार्थभावले समर्पित भएर काम गर्नु प्रमुख कुरा हो भन्ने उदाहरणस्वरुप मैले पद त्याग गरेको हुँ । यो आकस्मिक होइन, सोचविचार गरेर गरिएको हो । अरु पार्टीमा त यस्ता विकृति विसंगति छँदैथिए, निजी सम्पत्तिमै उहाँहरुको स्वार्थ र सिद्धान्त आधारित भएकाले वहाँहरुले यसलाई ठूलो कुरा मान्नुहुन्न । भ्रष्टाचार गर्नु र सम्पत्ति कमाउनु उहाँहरूको विधिविधान र आदर्शभित्रै पर्छ । तर, हामी कम्युनिष्टहरुको आदर्शभित्र त्यो पर्दैन । तर, हामी पनि अरु संसदवादी दलहरुकै रोगबाट ग्रसित भएर विकृति विसंगतियुक्त हुन थाल्यौं भने हाम्रो दायित्व पूरा हुँदैन । त्यसैले यो कदम चालेको हुँ ।
पद त्यागपछि उठेका केही प्रश्नबारे
म यो प्रष्ट पार्न चाहन्छु, मैले पद त्याग गरेको हो, पार्टी त्याग गरेको हैन । समाजलाई बदल्नका निम्ति संगठित शक्ति चाहिन्छ, सर्वहारा वर्गको संगठित शक्ति भनेको कम्युनिष्ट पार्टी हो । त्यसैले कम्युनिष्ट पार्टीको नेतृत्व विना परिवर्तनको अभियानलाई पूर्णता दिन सकिँदैन भन्ने कुरामा म शुरुदेखि नै प्रतिवद्ध छु । मलाई मार्क्सको सबैभन्दा मनपर्ने वाक्य भनेको दार्शनिकहरुले संसारको व्याख्या त गरेका छन् तर, मूल काम संसारलाई बदल्नु हो । त्यसैले संसारलाई बदल्ने हो भने संगठित शक्ति चाहिन्छ । संगठित शक्ति भनेको पार्टी हो । त्यसैले म शुरुदेखि नै पार्टीप्रति प्रतिवद्ध रहँदै आएको छु । जस्तोसुकै उतार चढावको बेलामा, ममाथि अन्याय हुँदा पनि मैले कहिल्यै पार्टीलाई छाडिँन । त्यसो भएको हुनाले मैले पार्टी छाड्नै प्रश्नै आउँदैन । मैले पार्टीको एउटा उच्च पदमात्रै छाडेको हो । त्यसैले पार्टी र संगठनमा निरन्तर क्रियाशील रहनका निम्ति आवश्यक संरचना पनि हामीले विकास गर्नुपर्छ । संगठनमा कुन कुन पद रहने र त्यसको आवश्यकता कति हो भन्ने हामीले मापदण्ड बनाउनुपर्छ । हामीकहाँ के भैदियो भने हामीले व्यक्ति हेरेर पदहरु निर्धारण गर्यौं । यसले गर्दा पदका आकांक्षीहरु यति धेरै भए कि यसलाई हामीले धान्नै नसक्ने अवस्था आयो ।
यसकारण उमेर पुगेका, अशक्त अवस्थामा पुगेकाहरुले स्वेच्छिक ढंगले पद त्याग गरिदियौं भने नयाँ साथीहरु अगाडि आउन र भूमिका निर्वाह गर्न सक्छन् भनेर मैले पद त्याग गरेको हुँ, पार्टी त्याग गरेको होइन । मैले सबैलाई पद त्याग गरौं भनेको हैन, एउटा निश्चित उमेर पार गरेका साथीहरुले नयाँलाई ठाउँ दिऔं भन्न खोजेको हो । उदाहरणका निम्ति म ६० वर्ष पुगें, मजस्ता ६० वर्ष पुगेकाले स्वेच्छिक ढंगले र ६५ वर्ष पुगेकाले अनिवार्य ढंगले पदमा नरहने र अन्य ढंगले पार्टीमा योगदान गर्ने विधि हामीले निर्माण गर्न सक्यौं भने नयाँ युवापुस्ता अगाडि आउन सक्छ । अब १०/१५ दिनको विस्तारित बैठक सम्मको अवधिका यस्तो विधि विधान र नयाँ कमिटी प्रणाली तयार गर्ने सोच बनाएका छौं । मलाई लाग्छ त्यहाँका आधार अन्य साथीहरुले पनि स्वेच्छिक रुपमा पद त्याग गर्नुहुन्छ । र, पदबाहिर रहेकाहरुलाई पनि क्रियाशील बनाइराख्ने विधि चाहिँ आवश्यक छ । मैले पद त्याग गरिसकेपछि पार्टीमा क्रियाशील भैराख्ने उपयुक्त विधि के हो ? यो विधिको विकास पार्टीले गर्ने छ भन्ने मलाई विश्वास छ ।
पार्टीले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि मैले नमानेको भन्ने जुन प्रश्न छ, साथीहरुले र्फकन आग्रह गर्नुभएकोमा म त्यसका निम्ति आभारी छु । साथीहरुले फिर्ता लिन आग्रह गर्नुभए पनि मैले यो निर्णयमा पुनर्विचार गर्ने सोचेको छैन । तर, पार्टीमा क्रियाशील भैराख्ने मेरो उद्देश्य छँदैछ । पार्टीका आवश्यक काम मैले गर्न सकिहाल्छु । यसका लागि पदमै बसिराख्नुपर्छ भन्ने मलाई लागेको छैन । भोलि विस्तारित बैठकमा पनि म साथीहरुसँग यही आग्रह गर्छु ।
लेनिनले स्थापित गरेको संगठनात्मक मान्यता भनेको नियमित रुपमा पार्टीलाई लेबी बुझाउनुपर्छ, कुनै पनि एउटा संगठनका आवद्ध हुनुपर्छ र पार्टीले दिएको जिम्मेवारी बहन गर्नुपर्छ । तर, निश्चित पदमै बस्नुपर्छ भन्ने मान्यता हुँदैन । पद भनेको पार्टीको आवश्यकताका साथै व्यक्तिको रुची र क्षमताले पनि निर्धारण गर्ने कुरा हो । पदमै बस्नुपर्छ भनेर व्यक्तिलाई कर गर्न सकिँदैन । हामी आजीवन पदमा रहन सकिँदैन र मिल्दैन । यो कुरा हामीले एक्काइशौं जनवादको प्रस्ताव पारित गर्दा नै भनिसकेका छौं । त्यसकारण हामी पुरानाले पद त्याग गर्ने र नयाँलाई ल्याउने नीति यसअघि नै पारित भैसकेको छ । मैले यसको शुरुवात मात्रै गरेको हुँ । अध्यक्षको यतिबेला मुख्य जिम्मेवारी हुने भएकाले उहाँले छाड्नु उपयुक्त हुँदैनथ्यो । म मुख्य जिम्मेवारीमा थिइँन त्यसैले मैले छोड्नु अहिले उपयुक्त बेला हो । मभन्दा तलका साथीहरुले मात्रै यसो गरेर त्यो प्रभावकारी हुँदैनथ्यो ।
म पार्टीबाट पछि हटेको हैन । पार्टीमा पदका आकांक्षी धेरै भए, यसलाई कम गर्ने विधि के त ? स्वेच्छिक ढंगले पदत्याग गरेर पार्टीमा क्रियाशील हुने यो एउटा विधि हुन सक्छ । सबैभन्दा राम्रो विधि यही हो । तपाई हट्नोस् भन्नुभन्दा आफैंले छाड्नु राम्रो हुन्छ । र, मैले यसको शुरुवात गरेको हुँ ।
बैठकमा चर्को विरोध आयो र मैले यस्तो निर्णय गरें भन्ने आरोप विल्कुल गलत हो । यसपालिको वैठकमा मेरो विरोध कसैबाट भएकै थिएन । हेटौडा महाधिवेशनपछि पार्टीमा अध्यक्ष कामरेड प्रचण्ड र मेरोवीचमा एकता कायम छ । हामीवीच उच्च तहको एकता, समझदारी र विश्वास बनेको स्थिति छ । त्यसैले मैले कुनै रीस वा गुनासोले गर्दा छाडेको हैन । अध्यक्षले अहिल्यै नगर्नुभएको भए हुन्थ्यो, हामीले सँगै छाड्न पाएको भए हुन्थ्यो भन्नुभयो तर मैले उहाँलाई एक घण्टा आफ्ना कुरा राखें । मैले अध्यक्ष कामरेड प्रचण्डलाई सघाउ पुर्याउने उद्देश्यले नै यो कदम चालेको हो । त्यसैले यसमा कसैले आशंका लिनु हुँदैन । मैले यसो भनेपछि अध्यक्ष कामरेड व्यक्तिगत रुपमा कन्भिन्स हुनुभएको छ ।
भविश्यको योजनाबारे
पहिलो कुरा त म पार्टी, राजनीति र आन्दोलनका बाहिर कहिल्यै पनि हुन्न । कम्युनिष्ट पार्टीभित्रका विकृति विसंगतिलाई हटाउनका लागि पनि म क्रियाशील रहन्छु । प्रधानमन्त्री भएर काम गर्दै मैले शुरु देखि नै मूल्य मान्यता र आदर्श अनुसार काम गर्ने प्रयास गरें । मैले मुस्ताङ म्याक्स चढ्नु कुनै ढोंग र पाखण्ड थिएन । स्वदेशी उत्पादनलाई प्रश्रय दिनुका साथसाथै उच्च पदमा रहेका व्यक्तिले सरल जीवन बिताउनुपर्छ भन्ने सन्देश मैले दिन खोजेको थिएँ । उच्च पदमा रहेका मान्छेहरु जनतासरह भएर बाँच्नुपर्छ भनेर मैले प्रत्येक महिना जनताको घरमा प्रधानमन्त्री भन्ने कार्यक्रम अन्तरगत पिछडिएका जनताको घरमा गएँ । मेरा सीमा हुन सक्छन्, मेरो क्षमता नपुगेको हुन सक्छ, तर मेरो मूल्य मान्यता र इमान्दारितामाथि प्रश्न उठाइँदा मलाई पीडाबोध हुने गर्छ ।
अब मैले पद त्याग गरिसकेपछि राजनीतिमा मूल्य मान्यता र नैतिकता स्थापित गर्ने अभियानमा म सरिक हुन चाहन्छु । भ्रष्टाचारजन्य विकृति विसंगतिको अन्त्य गर्नका लागि मैले प्रधानमन्त्री हुँदा प्रयत्न गरे पनि संयुक्त सरकार भएकाले सोचेजति काम गर्न सकिएन । म अव भ्रष्टाचारजन्य क्रियाकलापबाट देशलाई मुक्त गर्ने र आर्थिक संवृद्धिका योजनाहरुतर्फ पनि काम गर्छु । साथै अग्रगामी संविधान निर्माणमा सहयोग गर्न पार्टीलाई जिताउने र संविधान निर्माणपछि मेरो समय र सामथ्र्यलाई देशको आर्थिक विकास निर्माणका योजनामा पनि खर्च हुनेछ ।

Sunday, June 2, 2013

राजा मर्दा मासुभात (स्मरण : दरबार हत्याकाण्ड)- ऋषिकेश दाहाल

रेडियो नेपालको नेटवर्क नै छैन। अल इन्डिया रेडियो पनि सुनिएन। सदरमुकाम मान्मा पुग्न चार घन्टा लाग्ने सुनाउँदै थिए घरवेटी। बिहान सात बजेतिर पाकिस्तानी रेडियोको फ्रिक्वेन्सी फेला पर्यो । धेरै त बुझिएन। 'नेपाल नरेशकी कत्लेआम' यस्तै सुनियो। २०५८ जेठ २० गते बिहान सबा सात बजे।
२०५८ जेठ २० गते कालिकोट जिल्लामा माओवादी जन सरकार घोषणाको कार्यक्रम थियो। त्यसैको रिपोर्टिङ गर्न राजधानीदेखि सशस्त्र माओवादी र उनीहरुको मिलेसियाको सहयोगमा यहाँसम्म आइपुगिएको थियो। शेरपाटामा जन सरकार घोषणाका लागि भव्य तयारी थियो। तलदेखि मानिसहरुको लर्को लागिरहेको थियो।
यो भव्य समारोह सुरुहुनुभन्दा अगाडि नै रेडियोबाट सुनिएको अस्पस्ट समाचारले हामीलाई अन्यौलमा पार्यो। 'कत्लेआम' सुन्नासाथ कृष्णज्वाला देवकोटा 'एक्साइटेड' भएका थिए। उनी उफ्रिए, 'गयो राजतन्त्र !' दीपक पाण्डे खुशी थिएनन्। 'अब सेना परिचालन हुनसक्छ। हामी फर्कनु बेस्,' पाण्डेको भनाई थियो।

अघिल्लो राति दरबारमा गोली चलेको थियो। राजा वीरेन्द्रसहित एउटा वंश विनास भएको थियो। दुरको कालिकोटका गाउँमा पनि दरबार हत्याकाण्डको खबर डढेलो झै सल्कियो। आकाशतिर हेलिकप्टर देख्दा पनि मानिसहरु भयभित देखिन्थे। क्रान्तिका लागि हतियार बोक्नेहरु त झन अन्योल र त्रस्त थिए भने निमुखाको अनुहारमा त्रास देखिनु सामान्यै थियो। हतियार आफैमा शक्ति थियो र जोखिम पनि। यो गाउँसम्म हामी माओवादीका हतियारधारी लडाकुको घेरामा सुरक्षितरुपमा आइपुगेका थियौं। अब हामीलाई हतियारकै डर थियो। सेनाको। माओवादीको।

कालिकोट जाँदा अछाम छिर्नुअघि कृष्णज्वाला देवकोटासँग दैलेखको तल्लो डुङ्गेश्वरमा चिया पाउरोटी खाँदै गर्दा पहिलोपटक दुई कम्ब्याटेन्ट हतियारसहित देखिए। भरुवा बन्दुक बोकेका दुई भर्भराउँदो उमेरका ठिटा देख्दा मन झसङ्ग भयो। यहाँसम्मको यात्रामा हतियारधारी थिएनन्, पिकनिक हिडेकोजस्तै थियो यात्रा। बन्दुक देखेपछि मन गरुङ्गो भयो। लाग्यो, सकियो देश। तर, बोल्न सकिएन। त्यसपछिका दिनमा बन्दुक, विस्फोट र गुरिल्ला शैलीमा रातविरात यात्रा तय गर्नु स्वभाविक बन्दै गयो। हतियारधारी पनि प्यारा लाग्न थाले। कालीकोटसम्मको यात्रा पूरा भयो।

यात्रा पूरा भएपनि गन्तव्य मोडियो। दरबार हत्याकाण्ड भएको सीमित खबरबाहेक सुचनाको संसारबाट धेरै टाढा थियौं हामी। त्यसैले टोलीका अगुवा पाण्डेको 'सुरक्षित अवतरण' हुने धारणा हामी सबैलाई मान्य भयो। जनादेशका त्यतिखेरका सहयोगी दीपेन्द्र रोकाय चै हामीसँग फर्केनन्।

समाचारका लागि गएकाहरु समाचारविमुख हुनु आफैमा दुखद् थियो। मुलधारको पत्रकारितामा रहेकाहरु दरबार हत्याकाण्डजस्तो ठूलो विषयको समाचारको नजिकसमेत नहुनु अर्को पीडा थियो। त्यसमाथि आफ्नै ज्यानको सुरक्षा खोज्नु स्वभाविक बन्यो।

हामी पत्रकारहरु स्थानीय माओवादीकै घरमा थियौं, हत्याको अपुष्ट खबर सुन्दा। खानाको व्यवस्था त्यही घरमा मिलाइएको थियो। खसी काटिएको थियो -राजधानीबाट आएका पत्रकारको स्वागतमा। दैलेखका गाउँ गाउँमा माला र तोपको सलामी त पाएकै थियौं। लामवद्ध भएर मुठ्ठी कस्दै हात मिलाउनेमा बुढाबुढीदेखि केटाकेटीसम्म हुन्थे। लाग्थ्यो, यी सबै माओवादी हुन्।

कालिकोटपछि जुम्ला पुग्ने र त्यहाँबाट राजधानी उड्ने योजना यही घरमा टुंगियो। हामीले मासु भात खाइरहँदा त्यही घरकी बुढी आमै नुहाउने तरखरमा थिइन्। 'राजा मर्यो। जुठो लाग्यो। आज बार्नुपर्छ,' उनले भनेको सुनेपछि मासु खल्लो लाग्यो। नखान पनि नमिल्ने खान पनि कठिन। अन्तत: राजा मरेको दिन मासुभातले पेट भर्नै पर्योय। विकल्प थिएन।

पत्रकारको टोलीमा सबैभन्दा कान्छो मै थिएँ। खिलबहादुर भण्डारी र कृष्णज्वालाले मलाई बढी नै हौस्याउँथे। म हौसिन्थे पनि। तर, अब न उनीहरु हौस्याउन तयार थिए न म नै। दीपक पाण्डेको रफ्तारमा हिड्नु र अरुलाई पछाडि छोड्नु स्वभाविक भइसकेको थियो। जुन बाटो गयो त्यही बाटो फर्कनु हाम्रो वाध्यता थियो। माथ्लो डुङ्गेश्व रमा पुग्दा खोटो बोक्ने ट्रक पाइयो र पूरै चोपैचोपले भिजेर सुर्खेत झरियो। सुर्खेतपछि रात र दिन पूरै बस यात्रा। बाटामा मानिसहरु टाउको खौरँदै थिए। बसमा पनि उनीहरु किन कपाल नकाटेको भन्दै आक्रोसित भएर आउथे। पत्रकार भएर फाइदा लिएको एउटा महत्वपूर्ण घटना हो यो। नत्र राजमार्गमै कपाल मुण्डन हुन्थ्यो।
कर्फ्युको बीचमा राजधानी टेकियो। राति २ बजे गोङ्गबु। कर्फ्यु भएकाले रात त्यही बित्यो। भोलिपल्ट अफिस पुगेँ। समाचारविहीन भएर। पत्रिका नपढेको धेरै दिन भइसकेको थियो। पल्टाउन थालेँ। नयाँ सडकक दैनिकको केही दिनअघि प्रमुख समाचार छापिएको रहेछ - बिहेको विषयमा युवराज दीपेन्द्र र राजा वीरेन्द्रबीच झगडा भयो।

यी हुन् १९ औँ सताब्दीमा जन्मेका एकमात्र जिउँदा पुरुष

यो पृथ्वीमा १९ औँ शताब्दीमा जन्मेकामध्ये अहिलेसम्म कतिजना लोग्नेमान्छे जिउँदै होलान् ? के तपाइँ पत्याउनुहुन्छ ? अंग्रेजी पात्रो अनुसारको १९ औँ सताब्दीमा विश्वमा जन्मेका मध्ये अहिले केवल १ जना मात्र पुरुष जिवित छन् । ती व्यक्ति नै अहिले विश्वका सबैभन्दा बढि उमेरका मान्छे हुन् ।
jiroemon-kimura
जापानका ११६ वर्षका जिरोइमोन किमुरा १९ औँ सताब्दीमा जन्मेका अहिलेका एकमात्र जिवित पुरुष हुन् । जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार सन् १९०१ को नयाँ वर्षको दिन अघि जन्मेका महिला भने विश्वमा अहिलेपनि २१ जना छन् ।
किमुराका ५ जना छोराछोरी, १४ जना नातिनातिना, २५ जना पनाती पनातिना र १३ जना खनाती खनातीना छन् । किमुरा आफ्नी ८३ वर्षकी जेठी बुहारी र ५९ वर्षकी नातिनी बुहारी सँग क्योटोमा बस्दै आएका छन् । किमुराको जन्म १८९७ अपि्रल १९ तारेखका दिन भएको थियो ।

Monday, May 27, 2013

नमस्तेको सिम सित्तैमा

१३ जेठ, काठमाडौं ।
प्रमुख दुरसंचार सेवा प्रदायक संस्था नेपाल टेलिकम र एनसेलबिच ब्यापारसँगै ग्राहक संख्या बढाउने होडबाजीका बिच नेपाल टेलिकमले सित्तैमा मोबाइलको सीमकार्ड दिने भएको छ । एनसेलले आफ्ना १ करोड सिम बाँडेर ग्राहक संख्या करोड पुर्याएको प्रचार बाजी गरीरहँदा टेलिकमले आफ्नो मोबाइल सेवामा ग्राहक विस्तारका लागि एसएलसीको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई सित्तैमा सीमकार्ड दिने योजना ल्याएको हो ।

टेलिकमका अनुसार एसएलसी परिक्षा दिएर बसेका विद्यार्थीहरुले टेलिकमको दुर्इ सय रुपैंया पर्ने जीएसएम तथा सीडीएमए मोबाइलको सीम र रीम सित्तैमा पाउने छन् । टेलिकमले विद्यार्थीहरुलाई दुर्इ सय पर्ने सीम एकसयमा दिने भएको छ ।

जसमा एकसय रुपैयाँको टेलिफोन कल रहेको हुन्छ । विद्यार्थीले तिर्ने रकम र टक भ्यालुको हिसाब गर्दा विद्यार्थीलाई सीमकार्ड सित्तैमा पर्न गएको हो ।

विद्यार्थीहरुले यसरी मोबाइलको सीमकार्ड लिनका लागि टेलिकमको सीमकार्ड लिन आवश्यक पर्ने आवेदन र्फम का साथमा २०६९ को एसएलसीमा सहभागि भएको प्रवेशपत्रको फोटोकपी बुझाउनु पर्ने छ ।

विद्यार्थीहरुसँग नागरिकता नभएको खण्डमा बाबु वा आमाको नागरिकताबाट पनि उनीहरुलाई सीमकार्ड दिने टेलिकमले जनाएको छ।  टेलिकमले आफ्ना सबै वितरण केन्द्रबाट विद्यार्थीहरुले मोबाइलको सीम तथा रीमकार्ड लिन सक्ने जनाएको छ ।

९ कक्षादेखि नै इन्जिनियरिङ

धरान, जेष्ठ १३ - इन्जिनियरिङ पढ्न अब लाखौं रुपैयाँ चाहिँदैन । न एसएलसी र प्लसटु गरेर प्रवेश परीक्षाका लागि भौंतारिँदै हिँड्नुपर्ने अवस्था आउने छ । सामुदायिक विद्यालयको कक्षा ९ देखि नै इन्जिनियरिङको पढाइ थालिएपछि गरिब विद्यार्थीलाई यो विषय पढ्न सहज भएको छ । सरकारले यसै शैक्षिक सत्रदेखि लागू गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय कार्यक्रमले यो सम्भावना बढाएको हो । माध्यमिक तहदेखि नै प्राविधिक विषय पठनपाठन गर्ने/गराउने नीतिअन्तर्गत धरानस्थित सामुदायिक शिक्षा निकेतन उच्चमाविमा आइतबारदेखि कक्षा ९ को सिभिल इन्जिनियरिङ पढाइ सुरु गरिएको छ । यो पूर्णतः निःशुल्क हो । विद्यार्थीहरूसँग कुनै अतिरिक्त रकम नलिएको विद्यालयले जनाएको छ ।
शिक्षा विभागले सार्वजनिक सूचनामार्फत नयाँ नीतिअन्तर्गत ५ वटा प्राविधिक तथा व्यावसायिक विषयमध्ये एक पठनपाठन गर्न इच्छुक सामुदायिक उच्च माविहरूलाई प्रस्तावपत्र आह्वान गरेअनुसार शिक्षा निकेतनले इन्जिनियरिङ कक्षा सञ्चालनको स्वीकृति पाएको हो । प्राचार्य हिराकाजी बुढाथोकीका अनुसार पहिलो पटक देशभरिका १ सय विद्यालयहरूलाई प्राविधिक विषय पढाउने स्वीकृति दिने कार्यक्रममा २ सय २३ आवेदन परेको थियो । त्यसमध्ये पूर्वाञ्चलमा सुनसरीको शिक्षा निकेतन र मोरङको सुकुना उच्चमाविले कक्षा ९ देखि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने स्वीकृति पाएका हुन् । विभागले स्वीकृति दिएका बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर, इलेक्टि्रकल र सिभिल इन्जिनियरिङ मध्ये माध्यमिक तहमा पहिलो पटक सुरु गरिएको सिभिल इन्जिनियरिङ पाठ्यक्रम चार वर्षे छ । उनीहरूले १ सय पूर्णाङ्कका साविक पाठ्यक्रमको नेपाली, अंग्रेजी, गणित र विज्ञानबाहेक थप ६ सय पूणर्ांकको पाठ्यक्रमसहित १ हजार पूर्णाङ्क पढ्नुपर्ने छ ।

हेडमास्टरको कोठामा शिक्षक तास खेल्ने, विद्यार्थी कता जाने

१३ जेठ,डोटी। विद्यालय पढाउन आएका शिक्षक तास खेल्छन भन्दा तपाईलाई विश्वास नलाग्न सक्दछ तर डोटीको कालिका माध्यामिक विद्यालय पुग्नु भएको भने तपाई जिल पर्नु हुनेछ।
डोटीको डौड गाविस स्थित कालिका माध्यामिक विद्यालय डुम्रीका शिक्षकहरु प्रअको कार्यकक्षमै तास खेल्छन। विद्यालयको हाप टाईम र परिआए जुनसुकै बेला अपिसकोठाको ढोका बन्द गरी तास खेल्ने गरेका विद्यार्थीहरले बताएका छन्। विद्याल परिसरमै दुइ शिक्षक भेट्ने बितिकै 'म्यारिज'को चर्चा हुने गरेको विद्यार्थीले बताए ।
कक्षा भने तिनै शिक्षक भित्रको कुरा बाहिने नलग्न विद्यार्थीलाइ चेतावनी दिन्छन् ।
स्कुल छुट्टी हुने बितिकै जाँड रक्सी विद्यालयमै ल्याएर खाइन्छ।
विद्यालय व्यवस्थापन समिति मौन रहेकाले पनी शिक्षकहरुले मनपरी गर्ने गरेको स्थानिय बासिन्दा बताएका छन्। आफै नियम र अनुशासनमा बस्न नसक्ने शिक्षकालई के मुखले नैतिकताको पाठ सिकाउँछन्, विद्यार्थीहरुले प्रश्न गर्ने गरेका छन्।
साँझ विद्यालयमा रक्सी खान र तास खेल्न राजनैतिक दलका नेता कार्यकर्ता पुग्ने गरेको स्थानिय वासिन्दाले बताएका छन्।

Sunday, May 26, 2013


सञ्जयको सगरमाथा अनुभव

बाउबाजेले आर्शिवाद दिँदा शिखर चुम्ने भएस भन्छन् । धेरैको जीवनमा यस्ता आर्शिवादले खास अर्थ नराख्न सक्छ । तर, सञ्जय पण्डितको बाल मस्तिष्कमा बडाले दिने गरेको त्यो आर्शिवादले गहिरो छाप पार्यो । विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य बनाउन प्रेरित गर्यो

उनी त्यही लक्ष्य पूरा गर्न ५ वर्षअघि प्युठान बिजुवारबाट काठमाडौं झरे । स्वर्गद्वारीबाट सगरमाथा चढ्ने लक्ष्यसहित राजधानी आइपुगेका सञ्जयले यसै महिना सगरमाथा चढ्ने सफलता पाए। सगरमाथाको उचार्इं जित्ने उनको लक्ष्य सहजै पूरा भएको होइन। दोस्रो प्रयासमा उनले जोखिमपूर्ण लक्ष्य हासिल गरेका हुन्।


सञ्जयको परिचय यसअघि अल्ट्रा धावकका रूपमा थियो । प्रतिस्पर्धात्मक एथलेटिक्ससँग खास साइनो नभए पनि अल्ट्रा दौड मार्फत जोखिमपूर्ण खेलकुदमा उनको नाम चिनिएको थियो । सगरमाथाको सफल आरोहणपछि उनको परिचय आरोहीमा पनि थपिएको छ। नेपाली खेलकुदमै सगरमाथा चढ्ने उनी दोस्रो हुन् । यसअघि फुटबल तथा एथलेटिक्सका खेलाडी रहिसकेका साइक्लिङ संघका अध्यक्ष छिमी उर्केन गुरुङले ४८ वर्षको उमेरमा सगरमाथाको शिखर टेकेका थिए ।


'
१०औं सागमा स्वर्ण पदक जितेर फर्किंदा राजेन्द्र भण्डारीलाई नगरपरिक्रमा गराइएको थियो । त्यसले मलाई धावक बन्न प्रेरणा मिलेको हो,' सञ्जय सम्झन्छन्, 'पछि अरुभन्दा भिन्न गर्ने सोच आयो । अल्ट्रा रेसमा जोड दिएँ । छोटो समयमा अल्ट्रा धावकमा चिनिएँ। अल्ट्रा रेसको सफलताले अझ नयाँ गर्ने सोचस्वरुप सगरमाथा चढ्ने लक्ष्य बन्यो ।' सगरमाथा चढ्न जाँदैछु भन्दा उनलाई धेरैले हावादारी भनेर उल्याए।

'
पागल हुने भइस्' भनेर धेरै परिचितले हाँसो गरेको सम्झना पनि उनमा ताजा छ । गत वर्ष शिखरमा पुग्न असफल भएर फर्किदा आलोचकको मुख अझै चलेको थियो। 'तर मलाई सक्छु भन्ने आत्मविश्वास थियो। आज सफल भएको छु,' यसअघि नै किलर माउन्टेनका नामले चिनिने मनास्लु, आइल्यान्ड पिक र छुकुग्री हिमालमा सफल आरोहण गरेका उनले भने, 'त्यसको अनुभवले मलाई सगरमाथा चढ्ने आत्मविश्वास दियो।' गत वर्ष उनी ८ हजार ६ सय ८५ मिटरसम्म पुगेर पनि अक्सिजनको समस्याका कारण फर्किनुपरेको थियो।

त्यो बेला उनलाई अक्सिजनको कमीका साथै ढुंगा ठोक्किएर चोट पनि लागेको थियो। यसपालि पनि सगरमाथा शिखरमा पुग्न करिब २५ मिटर बाँकी रहँदा उनले पुरानै समस्या सामना गर्नुपर्यो। अक्सिजनले काम गर्न छाडेपछि सञ्जयले निकै तनाब बेहोरे। सहयोगी कर्मा शेर्पाले अक्सिजन दिएर आफूलाई शिखरमा पुर्या।एको बताउँछन् उनी। अर्का सहयोगी छेपाल शेर्पाले पनि हौसला दिए। करिब १५ मिनेट सगरमाथाको शिखरमा बिताउँदा सञ्जयले राष्ट्रिय खेलकुद परिषद्लगायत आफूलाई आर्थिक सहयोग गर्ने संस्थाहरूको झन्डा फहर्याइरहे।


शनिबार नागरिकसँग भेटिँदा थकित भए पनि उनमा छुट्टै उत्साह थियो। अनुहारमा ताजगी र फूर्ति थियो।
हिउँले खाएका खुट्टा देखाउँदै उनी सगरमाथा चढ्नुलाई जीवनकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा अर्थ्याउँदै थिए। हिउँले डढेर कालो भएको अनुहार सामान्य हुने क्रममा थियो। चोट छोप्न खुट्टामा अझै सेतो पट्टि देखिन्थ्यो। 'सगरमाथा चढ्नु सामान्य होइन, खेलकुदमा लागेकाले पदक जित्न सक्छन्।

तर
, सगरमाथा चढ्न गाह्रो छ,' उनले सन्तुष्टि पोखे, 'मैले त्यो गाह्रो काम पूरा गरेँ।' 'शिखरमा पुग्दा विश्वलाई आफूले हेरिरहेको अनुभव भयो। त्यो बेला मैले स्वर्ग पुगेको अनुभूति गरेँ,' उनले अनुभव सुनाए।  २४ वर्षे सञ्जयले अहिलेसम्म २ हजार २ सय १० किलोमिटर अल्ट्रा रेस पूरा गरिसकेका छन्। प्युठानको स्वर्गदारीदेखि काठमाडौं, काठमाडौंगोर्खा, काठमाडौंखासा, काठमाडौंरसुवा, जिरीकाठमाडौं, दाङबाग्लुड उनले पूरा गरेका मुख्य रेस हुन्। उनले जन्मभूमि स्वर्गद्वारीको प्रचार गर्ने उद्देश्यले अल्ट्रा रेस थालेको बताए।

यसका लागि स्वर्गद्वारीदेखि सगरमाथासम्म शान्तियात्रा गर्ने योजना बनाइसकेका छन्।
प्रतिस्पर्धात्मक दौडमा सञ्जयले क्षेत्रीयस्तरको एथलेटिक्समा पदक जितेका छन्। राष्ट्रियस्तरमा गुमनाम धावकलाई प्रतिस्पर्धाबाट डराउने आरोप लाग्ने गरेको छ। कान्तिपुर इन्टरनेसनल कलेजमा एमबिए पढ्दै गरेका उनको अठोट छ, 'मलाई यो आरोप लगाउने गरिएको छ। म भर्खर २४ वर्षको भएँ, अझै धेरै वर्ष दौडन सक्छु।

चाँडै राष्ट्रिय प्रतियोगिता खेलेर त्यस्ता आरोपलाई गलत सावित गर्नेछु।
' आफूलाई सधैँ नयाँ गर्न खोज्ने व्यक्तिमा व्याख्या गर्न रुचाउने उनको सगरमाथा पछि अर्को नयाँ लक्ष्य बनिसकेको छ, विश्वको सात महादेशको उच्च शिखर चढ्ने। उनी भन्छन्, 'सगरमाथा चढिसकेकाले मलाई अब सबै महादेशको उच्च हिमाल चढ्न अप्ठेरो हँुदैन।' सगरमाथाबाट सञ्जय जीवनको सबैभन्दा खुसीको स्मरणसँगै कहिल्यै बिर्सन नसक्ने दुःखद घटनाको साक्षी पनि बनेर फर्कनुपर्योस।

आफूलाई सगरमाथा चढ्न सघाउने गाइड लोप्साङ शेर्पालाई सञ्जयले सदाका लागि गुमाए। क्याम्प
४ मा सामान पुर्या‍एर फर्कंदा उनको मृत्यु भयो । 'ऊ २५ वर्षका थिए, २ हप्ता सँगै रहँदा उनी मेरो आत्मीय भइसकेका थिए। म अल्ट्रा धावक भएको थाहा पाएपछि उसले मलाई एकै महिनामा दुईपटक सगरमाथा चढ्न सघाउने वाचा गरेका थिए। 'त्यो पूरा नभएकोमा मलाई कुनै दुःख छैन। तर आफ्नो आत्मीय मित्र गुमाउनुको पीडाले मलाई जीवनभर पछ्याउने छ,' यसो भनिरहँदा केहीबेरअघिको उत्साह र विजयीभाव सञ्जयको मुहारबाट गायब भइसकेको थियो। नागरिक दैनिकबाट